रुकुम पश्चिममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलालीले आइतबार जिल्ला प्रशासन कैलाली मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
रुकुम पश्चिमको चौरझारी नगरपालिका वडा नम्बर ८ सोतीमा ६ जनाको हत्या हुने गरी भएको घटनाका दोषीलाई कानूनी कठघेरामा ल्याई कारवाहीका लागि तरुण दल कैलालीले ज्ञापन पत्र बुझाएको हो । सोतीका गाउँलले नवराज विक लगायत ६ जनाको हत्या गरेको घटनाले नेपाली जनतालाई लज्जीत बनाएको ज्ञापन पत्रमा उल्लेख छ ।
घटनाले मानव अधिकारको उल्लंघन मात्रै नगरेर वर्तमान संविधान ऐन कानूनको धज्जी उडाएको ज्ञापन पत्रमा भनिएको छ । तरुण दल कैलालीले घटनाको सत्यतथ्य छानविन गरी हत्या गरिएका व्यक्तिलाई शहीद घोषणा गर्न, पीडित परिवारलाई राहत र क्षतिपूर्ति,दोषीलाई ज्यान मुद्धा र जातीय भेदभाव सम्बन्धी कसुरको मुद्धा चलाउन समेत माग गरिएको छ ।