लकडाउन खुकुलो पार्ने तयारी, उच्चस्तरीय समन्वय समितिले मन्त्रिपरिषदमा लाने भयो यस्तो प्रस्ताव

सरकारले जेठ ३२ अघिनै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । मन्त्रिपरिषदको शनिबारको बैठकले जेठ ३२ सम्म लकडाउन निरन्तर गर्ने तर यसबीचमा सरोकारवाला र विज्ञहरुको राय सुझाव र अरु देशका अनुभव समेत हेरेर लकडाउनको मोडालिटी हेरफेर गर्ने निर्णय गरेको थियो ।

उच्चस्तरीय समन्वय समितिको एक दुई दिनभित्रै बस्ने बैठकमा राय सुझाव लिएर लकडाउन विस्तारै खुलाउँदै जनजीवन सामान्य अवस्थामा फर्काउनेबारे छलफल हुने समिति सदस्यसमेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले बताए । तर लकडाउन हटाउन दबाब दिदै गर्दा महामारी नियन्त्रण बाहिर जाने खतरातर्फ पनि विचार पुर्‍याउनुपर्ने मन्त्रीले बताए ।



कोरोनो संकट व्यवस्थापन समिति (सीसीएमसी)ले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेको छ । यसअघिका कतिपय एलो र ग्रीन जोन भनिएका क्षेत्र अहिले संक्रमण बढेर रेड जोनमा पुगेकाले सीसीएमसीले पछिल्लो अवस्था अनुसार कहाँ कहाँ लकडाउन खुकुल्याउने भन्ने प्रस्ताव तयार पार्दैछ ।

काठमाडौं लगायतका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु भने बन्दै रहने गरि छलफल भइरहेको छ । रेष्टुरेन्टहरुमा पनि शुरुमा मान्छेहरु बसेर खानपिन गर्ने भन्दा पनि ‘टेक वे’ होम डेलिभरीका रुपमा खुलाउने र पछि विस्तारै मापदण्ड बनाएर एउटा टेबुलमा बढीमा २ जनासम्म बस्ने गरि खुलाउँदै जान सकिनेबारे छलफल भइरहेको छ ।

जेठ ३२ अघिनै काठमाडौं लगायत पहाडी र हिमाली जिल्लाहरुमा लकडाउन खुकुलो बनाएर सावधानीपूर्वक जनतालाई नियमित गतिविधिमा फर्काउनेबारे छलफल भइरहेको छ । उच्चस्तरीय समन्वय समितिले सबै परिस्थितिकाे आँकलन गरेर विज्ञहरुको सुझाव सहित मन्त्रिपरिषदमा लकडाउनको मोडालिटी फेर्न प्रस्ताव लैजाने तयारी गरेकाे स्रोतको दाबी छ ।

सम्बन्धित समाचार