कांग्रेसका आठ सांसदहरुले संविधान संशोधनको विधेयक दर्ता गराएका छन् । सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरीले संघीय संसद सचिवालयमा मंगलबार संशोधन विधेयक दर्ता गराएका हुन् ।
उनीहरुले पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन हालेको बताएका छन् । संशोधन हाल्ने मध्येका सांसद सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी दिएरै संशोधन हालिएको बताएका छन् । उनीहरुले तत्कालीन कांग्रेस नेतृत्वकै सरकारले अघि बढाएको विधेयकमा उल्लेखित विषयभन्दा फरक समानुपातिक समावेशीको बिषय थपेका छन् ।
संविधानमा समावेशी प्रतिनिधित्वको व्यवस्था मात्रै रहेकोमा संशोधनमा समानुपातिक शब्द थप गरिएको छ । यसअघि कांग्रेसले प्रदेशको सीमाना हेरफोर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन हालेको थियो ।