नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार जानकारी दिए ।
उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए । उनलाई जेठ १५ केएमसीबाट थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । आइसीयुमा उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
काठमाडौँ मेडिकल कलेजका बिरामी र स्वास्थ्यकर्मी गरी ५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अहिले यस अस्पतालका सबै सेवा बन्द गरिएका छन् ।
बुधबार थप २०१ जनामा कोरोना भाइरस संक्रमण देखिएसँगै कुल संक्रमित संख्या २३०० पुगेको छ ।