नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ जेठ ।
देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालको ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएका २०१ नयाँ संक्रमितमध्ये १७९ पुरुष र २२ जना महिला छन् । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या जम्मा दुई हजार ३०० पुगेको छ ।
यसैगरी कोरोनाका कारण दोलाखाका ७६ वर्षीय पुरुषको उपचारका क्रममा आज निधन भएको मन्त्रालयले जनाएको छ । उनी यही जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका लागि भर्ना भएको र ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि अप्रेसन गरिएको थियो ।
साथै जेठ १५ गते स्वाब परीक्षणपश्चात कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या नौ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
कुन जिल्लामा कति संक्रमित ?