अमेरिकाले चीनबाट हुने व्यवसायीक उडानमा प्रतिबन्ध लगाउने भएको छ । जुन १६ देखि चीनबाट हुने यात्रुसहितको उडानमा प्रतिबन्ध लगाउने तयारी अमेरिकाले गरेको हो ।
योसँगै विश्वका दुई ठूला अर्थतन्त्र भएका देश अमेरिका र चीनबिचको तनाव अर्को तहमा पुग्ने देखिएको छ । कोरोना भाइरसको महामारीका कारण चीनले केही समयअघि अमेरिकाबाट हुने उडानलाई रोक लगाएको थियो । त्यसको जवाफ स्वरुप अमेरिकाले चीनबाट हुने व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको यातायात विभागले जनाएको छ ।
कोरोना भाइरसको महामारी र हङकङमा चीनको नीति लिएर अमेरिका र चीनबिच पछिल्ला हप्तामा तनाव बढेको छ । यातायात विभागले एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथर्न एयरलाइन्स र हाइनान एयरलाइन्सबाट हुने व्यवसायिक उडानमा प्रतिबन्ध लगाउन भनेको छ । यी एयरलाइन्सहरुले महामारीका बेला पनि सीमित तहमा उडान नियमित गरिरहेका छन् ।
उडानमा प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्तावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमति चाहिन्छ । ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चीनले कमजोर प्रयास गरेको भन्दै आलोचना गर्ने गरेका छन् ।
अमेरिकामा रहेको चिनियाँ दूतावासले यस सम्बन्धमा तत्काल कुनै टिप्पणी गरेको छैन । तर यसअघि चिनियाँ अधिकारीहरुले अमेरिकाबाट चीनमा हुने उडानमा लगाइएको प्रतिबन्ध महामारी नफैलियोस् भन्ने हेतुले सबै एयरलाइन्सका लागि लागु गरिएकाले त्यसमा कुनै राजनीतिक स्वार्थ नरहेको बताएका थिए ।