उपत्यकाको सिडिओहरुको बैठकद्वारा लकडाउनलाई थप कडाइ गर्ने निर्णय

काठमाडौं उपत्यकालगायत देशका थुप्रै स्थानहरुमा व्यवशायीहरु लकडाउनविरुद्ध उत्रिरहेका बेला बिहीबार तीनै जिल्लाका जिल्ला प्रशासन प्रमुखहरुको बैठक बसेको छ । बैठक लकडाउनलाई कडा बनाउने सरकारको निर्णयलाई निरन्तरता दिने निचोडमा पुगेको ललितपुर जिल्ला प्रशासन प्रमुख नारायणप्रसाद भट्टले जानकारी दिए ।

‘हामी सरकारको निर्णयविरुद्ध जान सक्दैनौँ । सरकारको निर्णय कार्यान्वयन गर्ने भएकाले सरकारले जे निर्णय गरेको छ त्यसलाई कडाइसाथ कार्यान्वयन गर्छौँ’, भट्टले भने ।



केही दिनअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा व्यवसायीहरुले निर्णय नै गरेर व्यवसाय सुचारु गर्न थालेका छन् । बुढानिलकण्ठ नगरपालिकाले पनि निर्णय गर्दै बिहान दुई घण्टा सबै व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाको पछिल्लो परिस्थितिबारे माथिल्लो निकायलाई जानकारी गराउने पनि निर्णय भएको जनाइएको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन सरकारले पछिल्लोपटक जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय भएयता त्यसको संस्थागत विरोध र उल्लंघनहरु भइरहेका छन् ।

खासगरी सरकारले जेठ २५ गतेभित्र कर तिर्न निर्देशन जारी गरेपछि व्यवसायीहरु अवज्ञामा उत्रिएका छन्। सरकारले व्यवसायीहरुको दबाबपछि कर तिर्ने म्याद असार ७ गतेसम्म लम्ब्याएको छ ।

सम्बन्धित समाचार