पाकिस्तानमा नोभेल कोरोना भाइरसको संक्रमणबाट दुई जना सांसदको मृत्यु भएको पुष्टि गरिएको छ । बुधबार पाकिस्तानमा हालसम्मकै दैनिक कोरोना संक्रमितको उच्च वृद्धि भएकै दिन बुधबार दुई सांसदको मृत्यु भएको पाकिस्तानी पत्रिकाले जनाएको छ ।
बुधबार पाकिस्तानमा ४ हजार ७७२ कोरोना संक्रमित थपिएका थिए । बुधबार ज्यान गुमाउने सांसदमध्ये खेबर पाख्तुनख्वा प्रान्तका ६५ वर्षीय मियन जामसेद दिन काकाखेल र पन्जाबका सांसद साउखत मनजुर चिमा रहेको बताइएको छ ।
बुधबार नै अन्य दुईजना सांसदलाई समेत कोरोना पोजेटिभ देखिएको छ । यस साताको सुरुआतामा प्रधानमन्त्री इमरान खानले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन हटाउने बताएका थिए । उनले लकडाउन जारी रहेमा मुलुकको अर्थतन्त्र नै प्रभावित हुने बताएका थिए ।
पाकिस्तानमा हालसम्म कोरोना संक्रमितको संख्या ८५ हजारभन्दा बढी पुगेको छ भने १ हजार ७७० जनाको मृत्यु भएको छ ।