सरकारले लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई दिएको छ । उच्चस्तरीय समितिले लकडाउनको मोडालिटीका विषयमा सरोकारवाला निकायसँग छलफल जारी राखेकाले आजको मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटी तयार पार्ने जिम्मा समितिलाई दिएको हो । समितले तयार पारेको मोडालिटी अनुसार आइतबार पुन: बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय लिने एक मन्त्रीले बताए ।
उनले भने, ‘लकडाउनको मोडालिटी आइतबारमात्रै तय हुने भयो । विज्ञ र सरोकारवालासँग छलफल गरेर सुझाव एकीकृत गरेपछि यस विषयमा टुंग्याइने छ ।उच्चस्तरीय समन्वय समितिले विभिन्न क्षेत्रका सरोकारवालसँग छलफल जारी राखेको छ ।
मंगलबार उद्योगी व्यवसायीसँग छलफल गरेको समितिले विहीबार शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारावालासँग परामर्श गरेको थियो । बैठकमा प्याब्सन, एनप्याब्सन, हिसानलगायतका प्रतिनिधि थिए । केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि आज यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।