
नेकपा सांसद गंगा चौधरीको भनाइप्रति सरिता गिरीले आपत्ति जनाएकी छिन् । चौधरीले आफ्नो मान मर्दन हुने गरी संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै विरोध जनाएकी हुन् ।
जेठ १९ गतेको बैठकमा सांसद चौधरीले ‘नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको’ भन्दै गिरीले संसदमा व्यक्त गर्दै आएको भनाइप्रति आपत्ति जनाएकी थिइन् । नेपालले एक पक्षीय रुपमा नक्सा सावर्जनक गरेर भारतलाई चिढ्याएको भन्दै गिरीले पटक पटक आवाज उठाएपछि त्यसको जवाफ स्वरुप चौधरीले त्यसप्रति लक्षित गर्दै कडा अभिव्यक्त दिएका थिइन् ।
जेठ १९ को बैठकमा चौधरीले भनेकी थिइन्, ‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नमिचिएको गाउँ छैन् । भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुप-यो रे । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?’
चौधरीको उक्त भनाइप्रति शुक्रबार सांसद गिरीले भनिन्, ‘मेरो पदको गरिमा नभए भौतिक आक्रमणमा उत्रि सक्थे। म प्रेम र सद्भावको भाषा बोल्न चाहन्छु। उहाँले दिएको अभियव्यक्तिलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ गिरीले मिडियामा आएको गलत विषयलाई लिएर आफ्नो आलोचना गर्नु आपत्ति जनक हरेको बताइन्।
‘मिडियामा आएको गलत विषयलाई लिएर मप्रति आलोचना गर्नु बेकार हो । सांसदले बोल्दा सत्यतथ्य बुझेर बोल्न आवश्यक छ । यसअघि त दलाल भन्नुहुन्थ्यो, यसपटक चेली भन्नुभयो त्यसमा खुशी लागेको छ ।’ उनले चौधरीले चीनको इशारामा अभिव्यक्ति दिएको आरोपसमेत लगाइन् ।
‘मलाई आशंका छ चीनको इसारामा मलाई आरोप लगाएको त होइन ? म नेकपालाई आग्रह गर्न चाहन्छु, आफ्ना सांसदलाई ठीक गरी प्रशिक्षित गर्नुहोस् । बुद्धका सन्तानको रगत उम्मान्ने काम नगर्नुहोस्, गिरीले अगाडि भनिन्, ‘म घृणाको शब्द संसदको रेकर्डबाट हटाउन आग्रह गर्दछ ।’
त्यस्तै राजपाकै सांसद अमृत अग्रहरिले गंगा चौधरीले माफी माग्नुपर्ने बताइन् । उनले भनिन्, ‘उहाँले माफी माग्न आवश्यक छ । सांसदको रुपमा प्रक्रिया पूरा गरेर आएको हो। यहाँ रगत उमालने भाषणा गर्ने होइन, तातो रगत हुनेले बागमतिमा गएर चिसो पानीमा हाम फाल्न आग्रह गर्दछु ।’ उनले चौधरीलाई ‘आफ्नो सीमाभित्र रहेर मात्र अभिव्यक्ति दिन’ सुझाव दिइन् ।
सांसद गिरी र अग्रहरिले उत्तेजित रुपमा प्रस्तुत भएपछि सभामुख अग्नि सापकोटाले पटक पटक मर्यादित रुपमा सदनमा प्रस्तुत हुन रुलिङ गरेका थिए ।
