
भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टीनमा राख्न आग्रह गर्दा स्थानीयमाथि आक्रमण भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष नरबहादुर शाहको नेतृत्वमा आएको टोलीले स्थानीयमाथि आक्रमण गरेका हुन् ।
मुम्बईबाट फर्किएका १० जनालाई क्वारेन्टीनमा राख्न आग्रह गर्दा वडा कार्यालयले उनीहरुको व्यवस्थापन गर्न नमानेपछि विवाद भएको स्थानीयले बताएका छन् । विवाद बढ्दै जाँदा शनिबार बिहान वडाअध्यक्षसहितको समूह आएर चार जना स्थानीयमाथि हातपात गरेको आरोप लागेको छ । वडाअध्यक्षका छोराले समेत हातपात गरेको स्थानीयले बताएका छन् ।
वडाअध्यक्ष शाहले भने हातपात भएको विषयमा आफूलाई जानकारी नभएको बताए। ‘वडा कार्यालय अगाडि फोहोर गरेको गुनासो आएपछि मैले सम्झाएको थिए,’ वडा अध्यक्ष शाहले भने, ‘आक्रमण कस्ले र किन ग-यो भन्ने विषयमा मलाई जानकारी छैन् ।’
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टले स्थानीयमाथि आक्रमण भएको गुनासोपछि वडा अध्यक्षका छोरा सुजन शाहलाई पक्राउ गरीएको जानकारी दिए ।
