कहाँ बस्थे उपत्यकाका नयाँ ५ संक्रमित ? सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु

उपत्यकामा ५ जनालाई कोरोना सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ । काठमाडौंमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा शनिबार ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंका सङ्क्रमितमध्ये २ पुरुष र २ महिला छन् भने भक्तपुरमा १ पुरुषमा कोरोना देखिएको छ ।

काठमाडौं महानगरपालिकाले सङ्क्रमितको ट्रेसिङ गर्ने कार्य भइरहेको जनाएको छ । १ सातायता काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित देखिएका थिएनन् । शनिबार देखिएका सङ्क्रमित उपत्यका बाहिरबाट नै आएको हुन सक्ने अनुमान महानगरपालिकाको छ ।



महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बस्ने वडा, टोल, व्यक्तिगत सम्पर्कमा आएका व्यक्ति र आफन्तको विवरण लिने कार्य भइरहेको जानकारी दिए । सङ्क्रमित १ जना महिला भारतबाट आएको बताइएको छ ।

टोखा(मनमैजु क्षेत्रमा बस्ने भएकाले ट्रेसिङ कार्य भइरहेको तारकेश्वर नगरपालिकाले जनाएको छ । त्यस्तै भक्तपुरका सङ्क्रमित पुरुष सूर्यविनायकको भएको बताइएको छ । उनीहरू सबैलाई उपत्यकाको विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ ।

काठमाडौंमा २३, भक्तपुरमा ५ र ललितपुरमा तीन गरी हालसम्म उपत्यकामा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार