कोरोना विशेष अस्पताल बेल्झुण्डीबाट आइतबार १० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका मध्ये पाँचजना कोरोना भाइरस मुक्त भएका हुन् भने अरु पाँचजनामा भने कोरोना भाइरसको संक्रमण देखिएकै छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रका आधारमा पीसीआर रिपोर्टमा पोजेटिभ देखिए पनि कुनैपनि लक्षण नदेखिएका पाँचजनालाई पनि डिस्चार्ज गरेर घर पठाइएको कोरोना विशेष अस्पताल बेल्झुण्डीका हेल्थ असिस्टेन्ट द्रोण ओलीले बताए ।
‘स्वास्थ्य मन्त्रालयको परिपत्रका आधारमा दशजना नै कोरोना मुक्त हो’ उनले भने, ‘पाँचजनामा कोरोना नेगेटिभ छ भने पाँचजना २२–२३ दिन आइसोलेसनमा बस्नु भएको छ । उहाँहरुमा कुनै पनि लक्षण देखिएको छैन । त्यही भएर डिस्चार्ज गरेर पठाइएको हो ।’
आइतबार कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना घर फर्किएका हुन् । दाङको घोराही उपमहानगरपालिका निवासी एकजना, गढवा गाउँपालिका निवासी एकजना, बाँके जिल्ला निवासी पाँचजना, कपिलवस्तु जिल्ला निवासी दुईजना र बर्दिया निवासी एकजना गरी दशजना घर फर्किएका हुन् ।
सबैलाई आइतबार नै सम्बन्धित ठाउँमा पठाइसकिएको छ । कोरोना विशेष अस्पतालमा अब ४५ जना छन् । सबैको अवस्था सामान्य रहेको छ ।