प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको छ । आजको बैठकमा कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्न लागेकी हुन् ।
आज संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइनेछ । त्यसपछि आएका संशोधनमाथि संसदमा छलफल हुनेछ । विधेयक जेठ १९ गते सदनमा प्रस्तुत भएको थियो । सर्वसाधरणको जानकारीका लागि सार्वजनिक गरेको सात दिनपछि विधेयक छलफलका लागि संसदमा प्रस्तुत गर्न सकिने प्रावधानअनुसार विधेयक आजवाट अघि बढ्ने भएको हो ।
सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो । निशान छापमा प्रयोग भएको देशको नक्सा नै त्रुटीपूर्ण रहेपछि सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको थियो ।