रुपन्देही हत्या प्रकरण: बलात्कार प्रयासमा अवरोधपछि ५ जनाको सामूहिक हत्या !

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छी बजार नजिक मैनहवा गाउँमा ५ जनाको सामुहिक हत्या भएको छ । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ ।

मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन् । मृतक र हत्या गर्ने दुवै स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुर रहेको स्थानीयले बताएका छन् ।



पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । पक्राउ परेका व्याक्तिले प्रारम्भिक वयानमा हत्या गरेको स्वीकारेका छन् । उनले मृतक महिलालाई बलात्कार प्रयास गरेको र अवरोध भएपछि ५ जनाकै हत्या गरेको प्रारम्भिक वयान दिएका छन् । पाँचजनालाई कोदालो प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

घटनामा मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेका छ । उनीहरूको ठेगाना भने खुल्न बाँकी छ ।

सम्बन्धित समाचार