संक्रमितको संख्या ४ हजार नाघ्दासम्म सुरक्षित छन् यी ५ जिल्ला

पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार नेपालका ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आज इलामका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण फैलिएका जिल्लाको संख्या ७२ पुगेको हो ।

७२ जिल्लामा गरी संक्रमितको संख्या ४ हजार नाघ्दासम्म ५ जिल्ला भने अझै कोरोनाबाट सुरक्षित देखिएका छन् । कोरोना संक्रमण नदेखिएका जिल्लाहरुमा रसुवा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम र ओखलढुंगा रहेका छन् ।



स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ५८४ पुगेको छ ।

भरतपुर अस्पताल चितवनमा उपचाररत एक व्यक्तिको आज बिहान मृत्यु भएसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या भने १५ पुगेको छ । भरतपुरका ६८ का पुरुषको मंगलबार बिहान ७ बजे निधन भएको थियो ।

उनी गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचाररत थिए । उनमा कोरोना संक्रमण पुष्टि भएपछि गत हिजो बेलुका ७ बजे भरतपुर अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

उनको सुगर र प्रेसरको समस्या पहिले देखि भएको र कोरोनाको संक्रमणसँगै निमोनियाका कारण बिहान सात बजेर पाँच मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार