निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई जनता समाजवादी पार्टीले कारबाहीको चेतावनी दिएको छ। समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अडगरियाले संशोधन प्रस्ताव फिर्ता नलिए सांसद गिरीलाई कारबाही गर्ने बताएका हुन् ।
उनले भने, ‘हामीले दललाई नसोधिकन दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छौं, फिर्ता नभए पार्टीका तर्फबाट कारबाही गर्छौं ।’ गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकको विरोध जनाएकी थिइन्।
उनले संशोधनमा लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको बताएकी थिइन्। त्यसअघि प्रतिनिधिसभा बैठकमा समेत उनले त्यस्तै धारणा राखेपछि सांसदहरू उनीविरूद्ध खनिएका थिए।
सरकारले नेपालको संविधानको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची-३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव सहितको संशोधन संसदमा दर्ता गराएको हो। उक्त संशोधनको माथि गिरीले संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी हुन् । गिरीको उक्त कदमको उनकै पार्टीभित्र पनि व्यापक आलोचना भैरहेको छ ।