
सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । सीसीएमसी निर्देशन समितिको हालसम्म भएको खर्च सार्वजनिक भएको हो। सरकारले कोरोना नियन्त्रणका लागि १० अर्ब खर्च भएको बताएपछि उक्त खर्च अश्वभाविक भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
विपक्षी कांग्रेसले संसदमा खर्चको पारदर्शी रुपमा हिसाब सार्वजनिक हुनपर्ने माग गरेपछि सकारले हालसम्म भएको खर्च विवरण सार्वजनिक गरेको हो । यसअघि सरकारले १० अर्ब खर्च भएको बताए पनि शनिबार सार्वजनिक विवरणमा कोराना नियन्त्रणका लागि तीन तहका सरकारबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको उल्लेख छ।
कोरोना नियन्त्रणका लागि संघीय सरकारबाट ४ अर्ब १० करोड ५५ लाख ६ हजार खर्च भएको सीएमसीले जनाएको छ । जसमध्ये स्वास्थ्य मन्त्रालयबाट १ अर्ब १८ करोड ५२ लाख ८३ हजार, रक्षा मन्त्रालयबाट २ अर्ब ४० करोड २४ लाख ५७ हजार, गृह मन्त्रालयबाट २ करोड ४५ लाख ८८ हजार खर्च भएको छ ।
त्यस्तै संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट ५ करोड २० लाख, सहरी विकास मन्त्रालयबाट १ करोड ४२ लाख, शिक्षा मन्ँत्रालयबाट २ करोड ६९ लाख ७८ हजार खर्च भएको छ।
संघका लागि ५ अर्ब ६२ करोड रुपैयाँ रकम निकास भएको सीएमसीले जनाएको छ । त्यस्तै प्रदेशमार्फत १ अर्ब ३० करोड ४ लाख ९९ हजार र स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च भएको छ। स्थानीय तहका लागि हालसम्म ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ निकास भएको छ।
यस्तो छ खर्च विवरण

