बलिउड अभिनेत्री जरिन खान लामो समयपछि फिल्म ‘हम भी अकेले तुम भी अकेले’ मा देखिँदै छिन् । यसपटक उनको रोल बिल्कुल फरक छ। फिल्ममा उनी लेस्बियनको भूमिकामा देखिने छिन् । फिल्मको कथा ‘गे’ युवक वीर र लेस्बियन युवती मानसीको वरिपरि घुम्छ । उनीहरू एउटा सडक यात्रामा निस्केका हुन्छन्। उनीरूको उद्देश्य भारतमा होमोसेक्सुयालिटीको विषयमा सामाजिक पूर्वाग्रह र कलंकलाई चुनौती दिनु हो ।
मूलधारका तमाम अभिनेत्री फिल्ममा होमोसेक्सुअलको अभिनय गर्न असहज महसुस गरिरहेको अवस्थामा जरिनले भने समाजमा रहेको गलत सोच परिवर्तन गर्न यो रोल चुनेकी हुन् । ‘अंग्रेजी में कहते हैं’ का निर्देशक हरिश व्यासले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्मको सुटिङ दिल्ली, नोएडा र धर्मशालाको वरपर गरिएको छ। फिल्ममा अंशुमन झा मुख्य भूमिकामा छन् । उनले वीरको भूमिका निर्वाह गरेका छन्। यसका साथै उनी फिल्मका निर्माता पनि हुन् ।
फिल्मका बारेमा जरिन भन्छिन्, ‘यो फिल्म वीर र मानसीको मित्रताको कथा हो । वीर गे हुन् र मानसी लेस्बियन । दुवै एक सडक यात्रामा निस्कन्छन् । त्यसबीचमा घट्ने घटनाले उनीहरूको जीवन बदलिदिन्छ । यो कथा मेरो मुटुको नजिक छ र यो हाम्रो समाजलाई सुनाउनु जरुरी छ । स्वतन्त्रता प्राप्त भएपछि पनि यहाँ धेरै यस्ता परिवार छन् जहाँ सेक्सुअल प्रशिक्षण मान्य छैन ।’
‘फिल्मले उपदेश दिँदैन तर होमोसेक्सुयालिटीको विषय रोमाञ्चक तरिकाले प्रस्तुत छ’, उनले भनिन् । यसको प्रिमियर गत वर्ष नोभेम्बरमा न्युयोर्कको म्यानहटनमा आयोजित साउथ एसियन इन्टरनेसनल फिल्म फेस्टिभलमा भइसकेको छ। त्यहाँ फिल्मले बेस्ट फिल्मको अवार्ड पाएको थियो । यसका साथै यसै वर्ष जनवरीमा राजस्थान फिल्म फेस्टिभलमा पनि देखाइएको थियो । त्यहाँ यसले उत्कृष्ट निर्देशक उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएको थियो ।
अहिले फिल्म डिजिटल माध्यमबाट रिलिजका लागि तयार छ । फिल्म मार्चमा रिलिज हुनुपर्ने थियो तर लकडाउनका कारण रिलिज हुन सकेन । अब निर्माताले फिल्म ओटीटी प्लेटफार्मबाट रिलिज निर्णय गरेका छन् । एजेन्सी