लकडाउनपछि बन्द सरकारी कार्यालय आजदेखि खुल्ने

लकडाउनका कारणा बन्द भएका सरकारी कार्यालय आजदेखि खुल्ने भएका छन् । २८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार दुई सिफ्टमा सञ्चालन हुने गरी सरकारी कार्यालय खुल्ने भएका हुन् । बैठकले १ असारदेखि बिहान ८ देखि साँझ ६ बजेसम्म सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमण बढेसँगै गत ११ चैतमा देश लकडाउन भएसँगै स्वास्थ्य सेवाबाहेका सरकारी कार्यालय बन्द भएका थिए ।

मन्त्रिपरिषद्को निर्णयबमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सिफ्टमा कार्यालय खोल्ने गरी कार्यालय सञ्चालन गर्नेसम्बन्धी १३ बुँदामा ढाँचा तयार गरेको छ । बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।



सरकारी कार्यालय खोल्दा कोभिड–१९ को संक्रमण फैलिन नदिन सुरक्षाका उपाय अवलम्बन गरिने भएको छ । मन्त्रालयले संक्रमण फैलिन नदिन जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आवश्यक प्रोटोकल बनाई लागू गर्ने, सवारीसाधनको उपलब्धता र प्रयोगका आधारमा कार्यालयसम्मको दूरीसमेतलाई विश्लेषण गरी व्यवस्थापन गर्ने, कार्यकक्षमा रहँदा पालना गर्नुपर्ने भौतिक तथा सामाजिक दूरीलगायतका जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड तथा प्रोटोकल तयार गरी लागू गर्नुपर्ने बताएको छ ।

सम्बन्धित समाचार