
विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्यामा श्रीमती मीना श्रेष्ठको परपुरुषसँगको प्रेम सम्बन्ध रहेको आरोपितको बयानबाट खुल्न आएको छ । दुलाल हत्याको आरोपमा तीन जनालाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
हत्या आरोपमा पक्राउ परेका दुलालकी श्रीमती मीना श्रेष्ठ, सिरहा लहान नगरपालिका–१० घर भई हाल विराटनगर बस्ने २१ वर्षीय ब्रह्मदेव साह र इटहरी १२ का २० वर्षीय सोनु साहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश राजकुमार कोइरालाको इजालासले आइतबार यो आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले बताएका छन् । गत जेठ ३ राति दुलालको आफ्नै घरमा हत्या भएको थियो ।
प्रहरीको हिरासतमा २५ दिन राखी सबै अनुसन्धान पूरा गरी प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । आरोपित ब्रह्मदेव साहले आफू मीनाको पे्रममा रहेको र यसबारे जानकारी पाई बारम्बार देवीप्रसादले शारीरिक अनि मानसिक यातना दिन थालेपछि साथीको सहयोग लिएर हत्या गरेको र हत्याको योजना बनाउन मीनाले नै भनेको पनि उनले बयान दिएका छन् ।
