ओली प्रचण्डबीच भेटवार्ताः स्थायी कमिटी बैठक र एमसीसीबारे भयो यस्तो सहमति

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बालुवाटारमा बुधबार साँझ भएको भेटवार्तामा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे लामो कुराकानी भएको थियो । दुई नेताबीच एमसीसीबारे स्थायी कमिटी बैठक बोलाएर निर्णय लिइने सहमति भएको छ ।

अनिश्चतकालका लागि स्थगित भएको स्थायी कमिटी बैठक असार १० मा बोलाउने पनि दुई अध्यक्षबीच सहमति भएको छ । असार १० गते बस्ने बैठकमा एमसीसीको विषयमा निर्णय लिइने छ भने अन्य राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ । यसअघि ओली र दाहालबीच बैठक कहिले बोलाउने भन्नेमा छलफल भए पनि मिति तय भएको थिएन ।



एमसीसीलाई लिएर नेकपामा विवाद छ । स्थायी कमिटीको चौथो बैठकमा एमसीसीबारे विवाद भएपछि केन्द्रीय कमिटी बैठकले अध्ययन कार्यदल बनाएको थियो । झलनाथ खनाल संयोजक, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदलले फागुनको दोस्रो साता नै प्रतिवेदन बुझाइसकेको छ । कार्यदललको प्रतिवेदनमाथि छलफल हुनेभने पाएको छैन ।

एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्‌बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ । यसअघि वैशाख २५ र पछि वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

नेकपाका २० स्थायी कमिटी सदस्यले वैशाख १० मै पार्टी अध्यक्षद्वयलाई पत्र लेखेर बैठक बोलाउन लिखित माग गरेका थिए ।

सम्बन्धित समाचार