
निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रियसभाले पनि सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेर पठाएको विधेयकलाई भर्खरै राष्ट्रियसभाले पनि सर्वसहमतिले पारित गरेको हो । ५९ सदस्यीय राष्ट्रियसभामा ५७ जना सांसद उपस्थित थिए । उपस्थित सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका हुन् ।
प्रतिनिधिसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रियसभामा सचिव राजेन्द्र फुयालले आइतबार टेबल गरेका थिए । त्यही दिन सैद्धान्तिक छलफल सकेर विधेयकमाथि संशोधन दर्ता गराउन ७२ घण्टा समय दिइएको थियो । उक्त अवधिमा विधेयकमाथि कुनै संशोधन परेन । सरकारले जेठ ७ गते भारतीय अतिक्रमणमा परेको लिम्पिाधुरा, कुटी, गुञ्जी, नावीसहितका भूमाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा लागू गरेको थियो ।
उक्त नक्सालाई संविधानको अनुसूची ३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा विधेयक पेश गरेको थियो। विधेयक सर्वसाधरणको जानकारीका लागि जेठ २० गते सार्वजनिक गरेको थियो ।
जेठ २७ गते राष्ट्रियसभामा छलफल भइ संशोधनका लागि समय दिइएको विधेयक ३१ गते अर्थात् आइतबार पारित गरेर राष्ट्रियसभामा पठाएको हो । राष्ट्रियसभाले पारेत गरेको सूचना बिहीबार नै प्रतिनिधिसभा बैठकमा जानकारी गराउने तयारी भइहरेको छ ।
जानकारीपछि विधेयक प्रमाणीकरणका लागि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष तत्काल पठाउने तयारी गरेका छन्। प्रमाणीकरणपछि औपचारिक रुपमा नेपालमा राष्ट्रियको चिन्हमा रहेको नेपालको नक्सा संशोधन हुनेछ।
