
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि भएको खर्च माग्ने नागरिकप्रति कटाक्ष गरेका छन् । उनले सरकारका निकायहरु काममा लागेका बेला हिसाब मागेर अलमल्याएको आरोप लगाएका हुन् । बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘१० अर्ब १० अर्ब भनियो । हल्ला गर्नेले गरे भो । मान्छे काममा लागेका छन्, यहाँ हिसाब चाहिँएको छ। भनिन्छ खोइ पैसा ?’
कोरोना नियन्त्रणका लागि दश अर्ब खर्च भएको सरकारी निकायले नै भनेपछि खर्च उक्त खर्च अस्वभाविक भएको भन्दै चौतर्फी आलोचना भएको थियो । संसद र सडकमा खर्चको वातास्तविक विवरण सार्वजनिक गर्न माग गर्दै आवाज उठेपछि एसिसीएममार्फत तीन तहका सरकारले ८ अर्ब ३९ करोड खर्च भएको जानकारी गराइएको थियो ।
कोरोनाका लागि भएको खर्चमा भ्रष्टाचार भएको विषयमा राज्यका स्थापित निकायले नै छानबिन गर्ने भन्दै ओलीले तत्काल केही नहुने आशय प्रकट गरे ।
उनले राष्ट्रियसभामा भने, ‘१४ खर्ब बजेटको एकरएक पैसाको हिसाब आन्तरिक लेखा परीक्षण हुन्छ, महालेखाले परीक्षण गर्छ, त्यसको प्रतिवेदन संसदमा आउँछ। म बाहेक सबै बेठीक छन्, भ्रष्ट बाहेक केही छैन भन्ने ठान्नुभएन, अर्को सरकारमा बस्नेलाई जसरी पनि चरित्र हत्या गर्नुपर्छ भन्ने मानसिकता विकास भएको छ ।’
उनले देशमा भ्रष्टाचार हुन नदिने कुरा फेरि पनि दोहोर्याए । ‘भ्रष्टाचार गर्दिन भ्रष्टाचार हुन दिन्न । शंका लागे पनि नलागे पनि हिसाब किताब हुन्छ । दोषी देखिए कारबाही गरिन्छ,’ ओलीले भने । प्रधानमन्त्री ओलीले स्वास्थ्य सामाग्री छोटो प्रक्रियाबाटै खरिद गरिने जानकारी गराए। उनले भने, ‘यति बेला छोटो प्रक्रियाबाटै खरिद गर्ने हो, गरिन्छ । भ्रष्टाचार गर्नेलाई कडा भन्दा कडा कारबाही गरिन्छ ।’
आफले देशका समस्या राम्रोसँग बुझेको दाबी गर्दै ओलीले नागरिकका समस्या समाधान हुने आश्वासन दिए। ‘अहिलेको देशको प्रधानमन्त्रीले गाउँ, शहर, सबै देखेको छ। सुख, दुख, गरिबी भोगेर आएको छ। गाउँका, गरिबका, गिटी कुट्नेका समस्याबारे अहिलेको सरकार जानकार छ,’ ओलीले भने । उनले दुई वर्ष यता सडकमा बालबालिका नदेखिएको, भोकै बस्नुपर्ने अवस्था नआएको दाबी गरे। ओलीले कोरोनापछि सांसदहरु विदेश जाँदा ‘भिख माग्ने देशको सांसद होइन भन्न पाउने’ उल्लेख गरे।
राष्ट्रियताको विषयमा एक ठाउँ
ओलीले अरु विषयमा नेपालका राजनीतिक दलहरुबीच फरक मत मतान्तर भए पनि राष्ट्रियताको विषयमा एक ठाउँमा रहेको उल्लेख गरे।
ओलीले भने, ‘नक्साका विषय देश एक ठाउँमा उभिएको छ । नेपालीलाई विभाजित गर्न सकिँदैन । अरु विषयमा फरक फरक मत राखे पनि राष्ट्रियताको विषयमा हामी एक ठाउँमा छौं ।’
उनले विधेयकको विषयमा सर्वसहमत भएकोमा सांसदहरुलाई धन्यवाद दिए ।
