नवकान्तिपुर संवाददाता
काठमाडौं, असार ४ ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिकाले आव २०७६/०७७ को अनुदानमा वितरण गर्न लागेको मिनिटिलर (खेत जोत्ने हाते ट्याक्टर) मा व्यापक दुरुपयोग भएको स्थानीयले बताएका छन् । उक्त हाते ट्याक्टर प्राप्त गर्ने कृषकको छनोट गर्दा वास्तविक कृषकलाई छनोट नगरी सबै वडाका नागरिकहरूलाई गुमराहमा पार्दै गाउँपालिकाले आफूअनुकूल र आफ्नो पार्टीसँग सम्बन्धित व्यक्तिहरूलाई मात्र वितरण गरिएको स्थानीयबासीहरू बताउँछन् । ककनी गाउँपालिकाले आफ्नो ५० प्रतिशत अनुदान रकम र सम्बन्धित कृषक, कृषि सहकारी तथा कृषि फर्मको ५० प्रतिशत रकम पर्नेगरी कृषि उपकरण मिनिटिलर वितरण सुरु गरिएको भए पनि लाभग्राही समूहसम्म सूचना नै नपु-याई आफू खुसी सीमित आफ्ना अनुकूलका कृषक समूह छनोट गरी वितरण गरेको भेटिएको हो ।
हालै ककनी गाउँपालिका रहेको रानीपौवा बजारमा ४० वटा मिनिटिलरहरू वितरण गर्ने कार्य भएको थियो । उक्त वितरण कार्यमा गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा तथा उपाध्यक्ष सीता खतिवडा लामालगायतको उपस्थिति रहेको थियो ।
मिनिटिलर वितरण गर्ने सूचीमा सबै वडाबाट निष्पक्ष रूपमा नामवली संकलन गरी आवश्यकता र उपयोगिताको अध्ययन गरी वितरण गरिनुपर्नेमा त्यसो गरेको पाइएन । वितरण कार्य पनि गुपचुपको रूपमा गरियो जसले वास्तविक कृषकहरू मिनिटिलर पाउनबाट बञ्चित रहे । गाउँपालिकाका अध्यक्षको हातबाट वितरित उपकरणमा पनि काख र पाखको अवस्था आएपछि काम विशेषले रानीपौवा पुगेका कृषकहरूले मिनिटिलर वितरणका बारेमा चासो राखेका थिए । दर्जनौं कृषकहरू जम्मा भएर ‘यो मिनिटिलर ककसले पाउने हो, हामी पनि कृषक प्रतिनिधि हौं तर हामीले चाहिँ किन जानकारी किन पाएनौं ?’ जस्ता प्रश्नहरू सोध्न थाले पछि त्यहाँ उपस्थित कर्मचारी, प्रशासकीय अधिकृत तथा गाउँपालिका प्रमुख नाजवाफ भएर एउटा एउटा बाहना बनाई त्यहाँबाट हिँडेका थिए ।
प्रमुख हिँडेपछि उपस्थित कृषकहरू आक्रोसित मुद्रामा त्यही प्रश्न लिएर उपाध्यक्षकहाँ गएका थिए । उनीहरूले मिनिटिलर वितरणको मापदण्डका बारेमा सोधेका थिए । उपाध्यक्षले ‘मापदण्ड बनाएर नामावली पेश गर्न वडालाई भनेका थियौं, पालिकालाई सबै किसानको अवस्था थाहा हुँदैन’ भन्दै तर्किएकी थिइन् । उनको जवाफलाई कृषकहरूले विश्वास नगरेपछि उनी पनि त्यहाँबाट पलायन भएकी थिइन् ।
पत्रकारसँग कृषकहरूले पोखेको गुनासो
ककनी गाउँपालिका वडा नम्बर ६ मदानपुरका सक्रिय कृषक अर्जुन पाठक गाउँमै व्यवसायिक कृषिकर्म गरिरहेका छन् । मदानपुरको तल्लो बेल्ट ढुङ्गेबेसी घर भएका पाठक कुलोको काम लिएर आइतबार अफिस टाइममा रानीपौवा पुगेका थिए । सोही समयमा केही व्यक्तीहरूले धमाधम मिनिटिलर बुझिरहेको देखेपछि उनी पनि के रहेछ भनेर हेर्न पुगे । उनी आफू प्रायःजसो पालिका र वडा कार्यालय गइरहने भएपनि अनुदानमा मिनिटिलर वितरण गरिने बारे कहिल्यै नसुनेको र आफ्नो घर क्षेत्रका कसैले पनि मिनिटिलर नपाएको सुनाए । उनले गुनासो गरे– ‘गाउँपालिका र वडा कार्यालयले सूचना लुकाएर आफू खुसी आफ्ना मान्छेहरूलाई मात्र मिनिटिलर बाँड्ने काम भयो ।
पाठक आफ्नो गुनासो लिएर पालिका अध्यक्षलाई भेट्न भए तर भेट्न सकेनन् । बल्लतल्ल उपाध्यक्षलाई भेटी मिनिटिलर वितरणको मापदण्डका बारेमा सोध्दा उपाध्यक्ष खतिवडाले ‘कृषक समूहको छनोट भइसकेकाले यसमा आफूले केही गर्न नसक्ने, वडाबाटै नागरिकलाई जानकारी दिनुपर्ने भएपनि वडाको कमजोरी भयो’ भन्ने टालटुले जवाफ दिएको पाठकले जानकारी दिए ।
विवादको जानकारीपछि सञ्चारकर्मी मिनिटिलर बाँड्न लागेको ठाउँमा जाँदा भेटिएका कृषि शाखाका कर्मचारी रवीन्द्र पाण्डेलाई ‘के आधारमा अनुदानमा मिनिटिलर बाँडिदैछ ? आफूलाई मन मर्ने समूहलाई मात्र अनुदान दिँदा बजेटको दुरुपयोग भएन र ?’ भन्ने प्रश्न गरेका थिए । पाण्डे भने यसबारे वडाध्यक्ष पुष्कर बोगटी र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई मात्र थाहा हुने जवाफ दिएर पन्छिएका थिए ।
