कोभिड र बेसार : ‘जनताले किन उनलाई साँच्चैको डाक्टर वा अलौकिक पात्र नमानून् ?’

केही महिनाअघि ‘तातोपानी खाँदा वा बाफ लिँदा कोभिड–१९ को संक्रमण नहुने’ बताएका प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त अभिव्यक्तिलाई लिएर गैरजिम्मेवार भएको भन्दै त्यतिबेला सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । फेरि पछिल्लो पटक कोभिड–१९ को बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको यतिबेला आलोचना भइरहेको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबारे धेरै लामो भाषण गरे । सो क्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरसलाई रूघाखोकीसँग तुलना गर्दै भनेका थिए ‘कोरोनाले छुने बित्तिकै मर्छु अब म, गएँ भन्ठान्यो भने बाँच्न झन् गाह्रो हुन्छ । कोरोना भनेको एउटा रूघाखोकी जस्तो लागिहाल्यो भने हाछ्युँ साछ्युँ गर्नुपर्छ, तातोपानी खानु पर्छ, उडाइदिनु पर्छ । त्यो हिसाबले सोच्नु पर्छ । त्यो मनोबल राख्नुपर्छ ।’ प्रधानमन्त्री यतिमा मात्रै रोकिएनन् बेसारको बारेमा पनि लामै समय खर्च गर्न भ्याए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा सकारात्मकभन्दा नकारात्मक टिका टिप्पणी धेरै भएका छन् ।



नेपालको दोस्रो कोरोना संक्रमित प्रसिद्धि श्रेष्ठले ट्विटरमा प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै कोरोनालाई सामान्य रूघाखोकी जस्तो नठान्न आग्रह गरेकी छिन् । नेपालको दोस्रो संक्रमित प्रसिद्धि निको भइसकेकी छन् । ‘मैले कोरोना भोगिसकेको छ, यो कुनै सामान्य फ्लू होइन, श्वास फेर्न गाह्रो हुन्छ, थकाइ लाग्छ । कृपया आफ्नो मनोरञ्जनको लागि कोरोना बिरामीको दुःखमा नखेल्नुहोस्, यो बकवास अत्ति भयो’ प्रसिद्धले ट्विटरमार्फत लेखेकी छन् ।

प्रधानमन्त्री आलीले बेसारका बारेमा भनेका थिए, ‘बेसार पनि कुनै–कुनै अवस्थामा खान हुँदैन । जन्डिस लागेको छ भने रक्तअल्पत्ता भएको छ भने बेसार खानु हुँदैन । गर्भवती र सुत्केरी महिलाले बेसार खान हुँदैन । आइरन र ब्लडको कमी छ भने बेसार खानु हुँदैन ।’ उनको यो अभिव्यक्तिपछि वीर अस्पतालका प्रा.डा. सुधांशु केसीले प्रधानमन्त्रीले गलत सूचना दिएको भन्दै ‘कुन किताबमा लेखेको छ जण्डिसमा बेसार खान हुन्न भनेर ?’ भनी प्रतिप्रश्नसमेत गरेका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटो विदा दिनुपर्ने टिप्पणी गरेका छन् । भट्टराईले भनेका छन्, ‘देशको प्रमले पटकपटक यस्ता बेसुरका कुरा गर्दा हामी सुनेर बस्छौं वा प्रतिवाद गर्न डराउँछौं भने गरिबी, धामीझाँक्री र अन्धविश्वासको दुष्चक्रमा परेका जनताले किन उनलाई साँच्चैको डाक्टर वा अलौकिक पात्र नमानून् ?’ साथै उनले अगाडि लेखेका छन् ‘अब सबैले साहस बटुलेर भन्नैपर्छ । प्रमको स्वास्थ्य ठीक छैन, छिटो विदा दिनैपर्छ ।’

सम्बन्धित समाचार