‘कांग्रेस र मधेसवादीलाई हेपेर नेकपा एक्लै अघिबढे पोलिटिकल एक्सिडेन्ट हुन्छ’

नेपाली काङ्ग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सरकारले कांग्रेस र मधेसवादी दलसँग भिड्ने काम गरे देश राजनीतिक दुर्घटनामा पर्ने दाबी गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्ने क्रममा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयप्रति लक्षित गर्दै उनले यस्तो दाबी गरेका हुन् । नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलाले सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने समितिले आइतवार निर्णय गरेको थियो ।

जितेन्द्रनारायण देवले भारतसँगको सम्बन्धलाई बाइकट गर्ने र चिनियाँको झोलामा नेपाललाई लैजाने नेकपाको मानसिकताले गर्दा भोलि देश पोलिटिकल एक्सिडेन्टमा पर्ने बताए । ‘नेपाली कांग्रेस र मधेसवादी दललाई हेपेर नेकपा एक्लैले मुलुक सञ्चालन गर्ने ? सम्भव छ त्यो ?’ उनले भने ‘पोलिटिकल एक्सिडेन्ट हुन्छ यो मुलुकमा, सहमति नतोड्नुहोस् ।’



वर्तमान सरकारले नेपालको परराष्ट्रनीति आम रूपमा दुबै छिमेकी मुलुकसँग राम्रो सम्बन्ध राख्ने भन्दै गए पनि सवा दुई वर्षको कार्यकाललाई हेर्दा समदुरीको सिद्धान्तमा पनि नरहेको देवले आरोप लगाए । वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा नेकपाको निर्णय अत्यन्तै अदुरदर्शी, अपरिपक्व, मुलुकमा साम्प्रादायिक दङ्गा भड्काउने र मुलुकलाई विभाजनतिर लैजाने भएको र प्रगतिशील पार्टीले राख्ने मानसिकता यस्तो नहुने भन्दै सांसद देवले उक्त निर्णय पुनर्विचार गर्न नेकपालाई आग्रह समेत गरे ।

सांसद नारायणदेवले बिहार र उतर प्रदेश (यूपी) सँगको मधेशको वैवाहिक सम्बन्धले गर्दा नेपालको राष्ट्रियता खतरामा जान्छ, त्यसैले राष्टियतालाई बचाउनको लागि बिहार र युपीसँगको विवाह सम्बन्धलाई विस्तारै योजनाबद्ध ढङ्गले तोड्नु पर्छ भन्ने दिशामा नेकपा लागेको बताए । साँस्कृतिक सम्बन्धमाथि आक्रमण गर्ने अधिकार कुनै पनि पार्टीलाई नभएको उनको भनाइ रहेको थियो ।

सम्बन्धित समाचार