‘आज रोप्यो भोलि टिपेर खानुपर्छ भन्ने मानसिकताबाट युवा माथि उठ्नुपर्छ’

देशमा हुने गरेका राजनीतिक तथा सामाजिक घटनाको जब जनस्तरमा विरोध हुन थाल्दछ त्यसपछि सबैभन्दा व्यस्त देखिन्छ संघीय राजधानी काठमाडौंको माइतीघर । त्यही व्यस्त माइतीघरको छेवैमा रहेको छ– रमेश मोटरसाइकल वर्कशप । साविकको मेघौली–५, चितवन हालको भरतपुर महानगरपालिका– २७ मा स्थायी घर भएका रमेशराज अधिकारी विगत दुई दशकभन्दा बढी समयदेखि मोटरसाइकल वर्कशप व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । सानैदेखि अटो मेकानिकमा रूचि भएका रमेश २०५५ सालदेखि यस क्षेत्रमा प्रवेश गरेका हुन् । २०५५ सालतिर चितवनमै रहेर अटो मेकानिकको रूपमा काम गरेका उनले त्यहाँ करिव तीन वर्ष काम गरिसकेपछि २०५८ सालमा काठमाडौं प्रवेश गरेका थिए ।

काठमाडौं आएदेखि नै अटो मेकानिकका रूपमा काम गरेका रमेशले करिव डेढ लाखको लगानीमा २०६३ सालमा आफ्नै व्यवसाय सुरू गरे । त्यसपछि व्यवसाय सञ्चालनका लागि उनले २०६६ सालमा घरेलु तथा साना उद्योगमा दर्ता गराए । अहिलेसम्म आइपुग्दा आफूले करिब ३ सय जना जतिलाई अटो मेकानिकको काम सिकाइसकेको उनी बताउँछन् । उनी भन्छन् ‘यो व्यवसाय सुरू गरेदेखि आजका दिनसम्म आइपुग्दा यही काम झण्डै ३ सय जनाभन्दा बढीलाई सिकाइ सकियो । कतिपयले त अहिले आफ्नै वर्कशपसमेत सञ्चालन गरिसकेका छन् ।’



वर्कशप व्यवसायप्रति उनी पूर्ण रूपमा सन्तुष्ट छन् । रमेश वर्कशपमा अहिले उनले चार जनालाई रोजगारी दिएका छन् । सबै खर्च कटाएर पनि मासिक एक लाखसम्मको आम्दानीले हुने गरेको उनी बताउँछन् ।

सबैभन्दा महत्वपूर्ण व्यवसायमध्येको एक हो वर्कसप व्यवसाय । निजी तथा सरकारी सबैखाले सवारीसाधन बिग्रेमा त्यसका लागि आवश्यक पर्ने भनेकै वर्कशप हो । तर यही व्यवसायमा सरकारको ध्यान नपुगेकोमा उनी गुनासो गर्छन् । ‘एउटा मेडिकल फार्मेसी खोल्नलाई मापदण्ड तोकेको हुन्छ । तर वर्कशप खोल्नका लागि कुनै मापदण्ड छैन ।’ उनी भन्छन् ‘मोटरसाइकल मेकानिक हुनलाई पनि सीमा निर्धारण गर्नु पर्यो । जस्तै सीटीईभीटीबाट टेष्ट पास गरेर मात्रै वर्कशप खोल्न पाउने गर्नुपर्छ । लाइसेन्स विना काम गर्न नपाउने सिस्टम लागु गर्नु पर्यो ।’

‘आज रोप्यो भोलि टिपेर खानुपर्छ’ भन्ने मानसिकता त्यागौं

‘नेपालमा रोजगारका केही पनि अवसर छैन’ भन्दै दैनिक विदेशी भूमिमा पसिना चुहाउने नेपाली युवायुवतीको पनि कमी छैन । स्वदेशमा रोजगारीका अवसरहरू नखोज्ने, आफ्नै भूमिमा मेहेनत नगर्ने, छोटो समयमै फलको आश गर्ने र सरकारललाई मात्रै दोषी देख्ने कतिपय युवायुवतीहरू पनि हाम्रै समाजमा भेटिन्छन् । दुई दशकभन्दा लामो समय एउटै व्यवसायमा रहेर काम गरेका रमेश भन्छन् ‘कतिपय युवाहरूमा ‘आज रोप्यो भोलि टिपेर खानुपर्छ’ भन्ने एकखालको मानसिकता देखिन्छ तर त्यो ठीक होइन ।’ उनी अगाडि थप्छन् ‘सबैभन्दा पहिले त काम सिक्नु पर्छ र त्यसका लागि केही समय धैर्य पनि गर्न सक्नुपर्छ अनि पो फल पाउन सकिन्छ ।’

पछिल्लो केही समययता विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विदेशबाट लाखौं नेपालीहरू स्वदेश फर्किएका छन् । यस्तोबेला तिनीहरूको रोजगारी लागि अर्थात् स्वदेशमै रोजगारी सिर्जना गरी लाखौं नेपालीहरू विदेशीनबाट रोक्न सरकारलाई चुनौती नै छ । रमेश भन्छन् ‘यो बेला स्वदेश फर्केका नेपालीहरूलाई विभिन्न तालिम दिएर कृषि क्षेत्रमा, सिपमूलक क्षेत्रमा र प्राविधिक क्षेत्रहरूमा लगाउन सके घरपरिवारसँगै रहेर स्वदेशमा नै उनीहरू आत्मनिर्भर बन्न सक्नेछन् ।’

सरकारले महिलालाई उद्यमी कर्जा दिने कुराहरू, युवाहरूलाई स्वरोजगार बनाउने कुराहरू कागजी रूपमा र बोलीमा मात्रै सिमित रहने गरेको उनी बताउँछन् । साथै उनी सरकारले युवाहरू तथा उद्यमीहरूका लागि ल्याउने कार्यक्रमहरूमा नातावाद, क्रिपावाद हावी हुने गरेको छ । वास्तविक रूपमा जसले अवसर पाउनुपर्ने हो, त्यस्ता व्यक्तिहरूले अवसरबाट वञ्चित हुनुपरेको गुनासो पोख्तै उनी भन्छन् ‘सरकार अब यस्ता कामहरूबाट माथि उठ्नु पर्छ ।’

रमेशको गायकी व्यक्तित्व

अधिकारी मोटरसाइकल वर्कशप सञ्चालनमा मात्र सीमित छैनन् । उनको अर्को शोखको क्षेत्र पनि छ । उनी फुर्सदको समय मिलाएर मीठो गीत पनि गाउने गर्छन् । उनी सुमधुर स्वरका धनी पनि हुन भनेर थोरैले मात्र चिन्दछन् । उनले १०/१२ वटा जति गीत गाएका छन् । अम्बिका म्युजिकले बजारमा ल्याएको आधुनिक गीतको सङ्ग्रह ‘सुप्रिया’ मा उनका तीनवटा गीत सङ्ग्रहीत छन् ।

सम्बन्धित समाचार