
आज विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ६४० जना नेपाली स्वदेश फर्किएका छन् । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्कन नपाएका र रोजगारीका लागि गएकाहरु फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतारको दोहाबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४४ जना नेपाली आज स्वदेश फर्किएका छन् ।
कतारमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो दोस्रो उडान हो । त्यस्तै आज पनि कुवेतको जजिरा एअरलाइन्सको चार्टर्ड उडानमार्फत त्यहाँ आममाफीमा सहभागी १६० जना नेपालीलाई निःशुल्क काठमाडौंसम्म ल्याइदिएको छ । गैरकानुनी श्रमिकलाई आममाफीमा सहभागी गराएर कुवेत सरकारले दिनहुँजसो निःशुल्क रुपमा काठमाण्डौसम्म आफ्नै जहाजमार्फत पठाइरहेको छ ।
यस्तै आज बैंककबाट पनि ७८ जना स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत उनीहरु नेपाल फर्किएका हुन् भने आजै अस्ट्रेलियाको सिड्नीबाट पनि त्यहाँ रोकिएका नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड वाइडबडी जहाजमार्फत २५८ जना आज स्वदेश फर्किएका हुन् । फर्कनेमा आफन्त भेट्न अस्ट्रेलिया गएका अभिभावक रहेका त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
यस्तै आज विभिन्न देशमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज नेपाली लिन जाने भएका छन् । केही देशका लागि जहाज उडिसकेका छन् भने केही देशमा जाँदैछन् । भोलि विभिन्न ५ देशबाट नेपाली स्वदेश फर्कनेछन् ।

