
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बिहान साढे ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गरेका थिए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले छलफलका लागि सात एजेण्डा पनि तय गरेको छ । ‘आज एजेण्डा तय गर्ने र अध्यक्षद्वयले धारणा राख्ने काम भयो । अब अर्को बैठकमा असार १२ गते बस्ने र सबै सदस्यहरुले खुलस्त आफ्ना धारणा राख्ने सहमति पछि बैठक सकियो,’ श्रेष्ठले भने ।
बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारका कामको समीक्षा, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध गरी सात एजेण्डा तय भएका छन् ।
विविधमा रुकुम घटनाको सन्दर्भ, प्रतिनिधिसभामा पेश भएको नागरिकता विधेयक र कोभिड– १९ को संकटका सन्दर्भमा सरकारले सबै कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरेको सन्दर्भमा संघीय सांसद र प्रदेश सांसदले पनि बैठक भत्ता नलिने गरी अन्य पार्टीहरुसँग छलफल गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

