नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असार ।
नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । नयाँ संक्रमितमध्ये एक सय १० जना महिला र पाँच सय १९ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार हालसम्म नेपालमा संक्रमितहरुको संख्या १० हजार सात सय २८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा एक सय १४ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेको छ भने संक्रमितहरूमध्ये २४ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा कोरोनाभाइरसको पहिलो संक्रमण पुष्टि भएको मंगलवार पाँच महिना पुगिसकेको छ । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण गत वर्ष माघ ९ गते देखिएको थियो भने दुई महिनापछि चैत्र १० गते दोस्रो संक्रमण देखा परेको थियो । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण रसुवाबाहेकका ७६ जिल्लामा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।