नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असार ।

नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मिलेर वडाध्यक्षहरूको सहमतिबेगर नै एकलौटी रूपमा बजेट निर्माण गरी पारित गरेर जनप्रतिनिधिहरूकै उपेक्षा गरेको जानकारी प्राप्त भएको छ । एकलौटी रूपमा गरिएको यस्तो कार्यप्रति गाउँपालिकाबासीको चर्को विरोध र असहमति हुँदाहुँदै पनि प्रहरी हस्तक्षेप गराएर भएपनि जबर्जस्ती निर्णय गरेको बुझिएको छ ।
दाङसिङस्थित गाउँपालिका कार्यालयमा अस्ति बोलाइएको बजेट अधिवेशनमा सहभागी हुन विभिन्न वडाबाट आएका सयौं युवाहरू बजेट निर्माण प्रक्रिया अपारदर्शी भएको र वडा प्रतिनिधिहरूलाई नै बाइपास गरेर एकलौटी ढंगले कार्यकर्तामुखी बजेट ल्याइएको भन्दै प्रदर्शनमा उत्रिएपछि सशस्त्र प्रहरी परिचालन गरी नेकपाबाट प्रतिनिधित्व गर्ने गाउँसभा सदस्यहरूलाई मात्र बन्द कोठामा राखेर बजेट पारित गराइएको थियो ।
अध्यक्ष र उपाध्यक्ष तथा नेकपाबाट प्रतिनिधित्व गर्ने गाउँसभा सदस्यहरूको मिलेमतोमा सम्पन्न गाउँपालिकाको बजेट अधिवेशनमा सत्तापक्षका जनप्रतिनिधिले देखाएको दम्भ र दमनकारी चरित्रको गिरिजाप्रसाद कोइराला फाउन्डेसन, नुवाकोट जिल्ला उपाध्यक्ष तथा नेपाली कांग्रेसका युवानेता शिव अधिकारी अविरलले एक विज्ञप्ति प्रकाशित गरी घोर आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा अधिकारीले स्थानीय सरकारको नेतृत्व गर्नेले बहुमतको दम्भमा आफ्नै जनप्रतिनिधिको आवाजसमेत सुन्न छाडेको र जनताको भावनालाई पूर्ण रूपमा उपेक्षा गर्दै भ्रष्टाचार र मनपरीतन्त्र चलाउन खोजेको भन्दै यस्तो कुशासन र भ्रष्टाचार तारकेश्वरबासीलाई सह्य नहुने कुरामा सचेतसमेत गराएका छन् ।
अधिकारीले विज्ञप्तिमार्फत् अत्याचारका विरुद्ध स्वतस्फूर्त रूपमा प्रतिरोधमा उत्रिएका युवाप्रति लक्ष्य गर्दै युवाहरूले देखाएको साहस र सौर्यको स्वागत गरेका छन् । उनले भनेका छन्– ‘भ्रष्टाचार र कुशासनविरुद्ध साहस देखाएर प्रदर्शनमा उत्रिने युवा साथीहरूप्रति मेरो उच्च सम्मान छ ।’ उनले गाउँपालिकाको निरङ्कुश शैलीप्रति सङ्केत गर्दै संघीयताको मर्मविपरीत वडाहरूलाई समानुपातिक ढंगले विभाजन गर्नुपर्नेमा त्यसो नगरी गाउँपालिकामा केन्द्रीकृत गरेको तथा आफ्ना कार्यकर्ताको बाहुल्य रहेको वडाहरूमा मात्र जथाभावी बजेट परिचालन गर्ने नीति अख्तियार गरेका प्रति आपत्ति जनाउँदै जनप्रतिनिधि वडा अध्यक्षहरूको अधिकार र आत्मसम्मानको रक्षा गर्न युवाहरूलाई आव्हान गरेका छन् ।
उनले गाउँपालिकाभित्र हुने अनियमितता र अपारदर्शिताका विरुद्ध आफूले सशक्त भण्डाफोर अभियान चलाउने उद्घोष गर्दै अन्याय र कुशासनका विरुद्ध प्रदर्शनमा उत्रिने युवा साथीहरूलाई बिचलित नहुनसमेत आग्रह गरेका छन् ।
प्रदर्शनका क्रममा हुलमुलमा पत्रकारहरूको क्यामेरामा समेत क्षति पुगेको थियो ।
