
आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । विभिन्न देशमा रहेका नेपाली ल्याउन र लिन जानको लागि १० वटा अन्तर्राष्ट्रिय उडान हुने भएको हो । आज दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर, दुबई, मेलबर्न र हङकङमा चार्टर्ड उडान हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आज विभिन्न देशबाट १२ सय जना नेपाली स्वदेश फर्कने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। आज बिहानै बहराइनबाट नेपाल एयरलाइन्सको जहाजमार्फत २ सय ६० जना नेपाली स्वदेश फर्किएका छन् । अहिले केहीबेरमा युएईबाट हिमालय एयरलाइन्सको जहाजमार्फत १ सय ५८ जना नेपाली आउनेछन् भने बहराइनबाट नै नेपाल एअरलाईन्सको जहाजमार्फत १ सय ५८ जना साढे ८ बजे नेपाल आइपुग्ने उनले बताए ।
यस्तै कुवेतबाट जजिरा एअरलाइन्सले साढे ११ बजे १ सय ५०, मलेसियाबाट हिमालय एयरलाइन्समार्फत दिउँसो साढे १२ बजे १ सय ५८, युएईबाट एअर अरेबियामार्फत साढे ३ बजे १ सय ५८ तथा मलेसियाबाट नेपाल एयरलाइन्समार्फत साँझ पौने ६ बजे १ सय ५८ जना नेपाली फर्कने नेपाली सेनाका प्रवक्ता पाण्डेले बताए। विश्वभर कोरोनाको प्रकोप बढेसँगै विभिन्न देशमा समस्यामा परेको नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले उद्धार प्रयास जारी राखेको छ। यसअघि हिजो मात्रै विभिन्न देशबाट ७ वटा चार्टर्ड विमानमार्फत ११ सय ८३ जना स्वदेश फर्किएका थिए।
