
बिहीबार राती मोरंगको कानेपोखरी गाँउपालिकास्थित पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
पथरीशनिश्चरे नगरपालिकास्थित इलाका प्रहरी कार्यालय पथरीका अनुसार झापाको दमकबाट इटहरी जाँदै गरेको बा।१४।च ९६४३ नम्बर स्कर्पियो जिपले ठक्करले दिदाँ मोटरसाइकलमा सवार दुई र पैदलयात्री १ जनाको मृत्यु भएको हो ।
प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दिलीप गिरीका अनुसार अनियन्त्रित गतिमा दौडिएको जिपले सुरुमा सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । गिरीले करिब ४५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको र उनको पहिचान खुलिनसकेको बताए ।
सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिएपछि जिपले विपरित दिशाबाट दमकतर्फ गइरहेको मे.१० प २७५६ नम्बरको मोटरसाइकललाई दिएको थियो । यसक्रममा मोटरसाइकलमा सवार फिदिम नगरपालिकाका करिब ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र अर्का पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि बसेका पहिचान नखुलेका व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताएका प्रहरी नायब उपरीक्षक गिरीले मोटरसाइकल चालक गुरुङको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा राती नै मृत्यु भएको बताए । घटनासँगै प्रहरीले जिपसहित चालक तथा गाडी धनी इटहरी नगरपालिकाका ४५ वर्षीय महेन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको छ।
थापालाई लुकिरहेको अवस्थामा कानेपोखरी गाँउपालिकाबाटै राति करिब १० बजे नियन्त्रणमा लिएको गिरीले जानकारी दिए ।
