
आज विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाली लिएर आएको जहाजले १६ वटा शव पनि ल्याएको छ । मलेसियाको क्वालालाम्पुरबाट आज सबैभन्दा धेरै नेपाली आएका छन् । मलेसियाबाटै १५ वटा शव पनि ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको क्लालाम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १४ शवसहित २४५ जना र अर्को हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४८ नेपालीसहित एक शव स्वदेश ल्याइएको छ ।
यस्तै यूएईको सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १६८ जना स्वदेश फर्किएका छन् भने बहराइनबाट नेपाल एअरलाइन्सका दुई चार्टर्ड उडानमार्फत २७३ जना नेपाली स्वदेश आइपुगेका छन् । बहराइनबाट एक नेपालीको शव पनि पठाइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
कुवेतमा आममाफीमा सहभागी १६० जना नेपाली पनि आज स्वदेश फर्किएका छन् । भिसाको नियम उल्लंघन गरेका १६० जना पुरुषलाई कुवेत सरकारले नै जजिर एअरको चार्टर्ड जहाजमार्फत निःशुल्क काठमाडौंसम्म ल्याइदिएको हो । कुवेतमा आममाफीमा सहभागी भएकाहरुको स्वदेश फिर्तीका लागि भएको यो ११ औं उडान हो । अहिलेसम्म आममाफीमा सहभागी १७ सय २५ जना नेपाल फर्किएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यस्तै भोलि शनिबार साउदीबाट नेपाली लिएर आउने जहाजले १६ वटा शव पनि ल्याउने वैदेशिक रोजगार बोर्डले जनकारी दिएको छ ।
