
दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेपछि आइसोलेशन व्यवस्थापनलाई लिएर चर्को आलोचना भएको छ । । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरसका संक्रमित विहीबार मध्यरातमा भागेका छन् ।
आइसोलेसन सेन्टरमा १०० जना संक्रमित थिए । उनीहरु मध्ये २४ जना विहीबार रातिको खाना खाएपछि करिब ११ बजेतिर भागेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए । उनीहरु आइसोलेसनमा बसेको १७ दिन भइसकेको थियो ।
नौमुले गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जना र नेपाल राष्ट्रिय आधारभूत विद्यालयको आइसोलेसनमा ३० जना संक्रमितको उपचाररत छन् ।
