नेकपा स्थायी समिति बैठकमा शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने केही सदस्यको तयारी थियो । पार्टी र सरकार दुवैको नेतृत्वकर्ताका रूपमा उनीमाथि खनिने गृहकार्य पूरा भएको थियो । तर, त्यो विषयले तब छिर्नै पाएन, जब ओली बैठकमै अनुपस्थित भइदिए ।
बैठकको पहिलो एजेन्डा अर्थात् अध्यक्षद्वयको मन्तव्य बुधबारै सकिएको थियो । शुक्रबार दोस्रो एजेन्डा थियो– कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार। त्यसमा सरकारको आलोचना हुने अवस्था थियो । त्यसको उच्चस्तरीय संयन्त्र नेतृत्व गरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले तयारी नपुगेको बताए । र, तेस्रो एजेन्डा अर्थात् ‘नेपालको सीमा समस्या र समाधान’ मा बैठक प्रवेश गर्यो।
चौथोमा थियो– सरकारको कामको समग्र समीक्षा । प्रधानमन्त्रीको अनुपस्थितिमा त्यो पनि सम्भव थिएन । त्यही भएर सीमा विषय (जसमा कसैको कुनै विमति थिएन) माथि छलफल गरेर दिन बिताइयो। त्यही सन्दर्भमा जवाफकर्ता बनेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग एमसीसी सम्बद्ध केही सबालजवाफ भयो ।
जब प्रधानमन्त्री ओली पार्टीभित्र निसानामा पारिन्छन्, कुनै न कुनै उपायद्वारा उनी त्यसलाई पन्छाउँछन्। लामो प्रयासपछि बोलाइएको स्थायी समितिमा त्यही झल्को मिल्यो । आफूमाथिको सम्भावित आलोचना उनले मौनतामै पन्छाइदिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।