बहुमत प्राप्त सरकारलाई होटल र दूतावासको डर किन ?

‘प्रधानमन्त्रीको अभिव्यक्ति सत्ता बचाउने अन्तिम तुरूपपत्ती’

‘दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ । यहाँका होटलहरूमा भइरहेका गतिविधिहरू हेर्नुहोस्, त्यसले पनि देखाइरहेको छ । एम्बेसी (दूतावास) को सक्रियता, त्यसले पनि देखाइरहेको छ । तर, म तपार्ईंहरूलाई यति भन्छु, नेपालको राष्ट्रियता त्यति कमजोर छैन । संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन ।’ जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए ।

प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा दिएको उक्त अभिव्यक्तिलाई धेरैले अस्वाभाविक भएको विश्लेषण गरेका छन् । राजनीतिक वृत्तमा तरंगित बनेको प्रधानमन्त्रीको अभिव्यक्तिले धरै प्रश्नहरू जन्माएका छन् । प्रधानमन्त्रीलाई के साच्चिकै संकट आइलागेको हो ? या अहिलेको परिस्थितिलाई उनले विषयान्तर गर्न खोजेका हुन् ? होइन भने बहुमत प्राप्त सरकारलाई होटल र दूतावासको डर किन ? प्रश्नहरू अनुत्तरित छन् ।



प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर अहिले विभिन्न टिकाटिप्पणीहरू भइरहेका बेला राजनीतिशास्त्री कृष्ण पोखरेलले उक्त भनाइलाई संविधानमा नक्सा संशोधनको ‘बहादुरी’ बापत भारतले पदच्यूत गर्न थाल्यो भनी कोकोहोलो मच्याउनु सत्ता बचाउने अन्तिम तुरूपपत्ती भएको टिप्पणी गरेका छन् । आइतबार बेलुका ट्वीट गर्दै पोखरेलले भनेका छन् ‘सरकारको नीति तथा कार्यक्रममा समेत थिएन नक्सा संशोधन । त्यो त सचिवालयको बैठकले निर्देश गरेपछि मात्र समावेश भएको जगजाहेर छ ।

त्यसैगरी समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संविधानमै व्यवस्था नभएको कुरामा प्रधानमन्त्री ओलीले चिन्ता लिएको बताएका छन् । ओलीको अभिव्यक्तिबारे पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सामाजिक संजालमार्फत् ‘हटाउने समय कहिले हो ?’ भन्ने प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन, तर अहिले हटाए नक्सा छापेको करणले हुने, भोलि सलहले दुःख दिएको बेला हुने ? पछि बाढीपहिरो आएको बेला हुने र अलिपछि दशैँ–तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ? उचित बेला चैं कैले रच हँ ?’ त्यसैगरी प्रधामन्त्रीको उक्त अभिव्यक्तिलाई सङ्केत गर्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले तथ्यहीन, असन्तुलित, विदेश सम्बन्ध र राष्ट्रिय छविमा आँच पुग्ने टिप्पणी गर्ने नेतालाई सही मनोपरामर्शदाता, मानसिक रोग विज्ञ र विशेषज्ञ सल्लाहकारहरूको खाँचो रहेको टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन् ‘हर हप्ता अत्यन्तै हलुका, सस्ता, तथ्यहीन, असन्तुलित, विदेश सम्बन्ध र राष्ट्रिय छविमा आँच पुग्ने टिप्पणी गर्ने नेतालाई सही मनोपरामर्शदाता, मानसिक रोग विज्ञ र विशेषज्ञ सल्लाहकारहरूको खाँचो छ भन्ने वास्तविकता कसले बुझाइदिन सक्ला ? कहिलेकाहिँ रोग पत्ता नलाग्दा उपचार असंभव हुन्छ ।’

जनताबाट बहुमत प्राप्त वर्तमान सरकारका प्रधानमन्त्रीसँग संसदमा अहिले स्पष्ट बहुमत कायमै छ । पाँच वर्षको लागि सत्ताको बागडोर सम्हालेको ओली नेतृत्वको वर्तमान सरकारले करिब तीन वर्षको कार्यकालसम्म आइपुग्दा अपेक्षित काम गर्न नसकेको आरोप भन्ने लाग्ने गरेका छन् ।

सम्बन्धित समाचार