पदबाट हटाउन लागे भनेर सार्वजनिक रूवाबासी गर्नु शोभनीय भएन : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदबाट आफूलाईहटाउन लागे भनेर सार्वजनिक रूवाबासी गर्नु शोभनीय नभएको टिप्पणी गरेका छन् ।जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नक्सा सामेल गरेबापत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन एम्बेसीको सक्रियता बढेको बताएका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका प्रवक्ता शर्माले ट्वीटमा भनेका छन्–‘कोरोनासँग जुध्न असफलतापछि जनताले परिवर्तन खोजेका छन् । सहयोद्धाहरूले जोगाइदिए तिनलाई धन्यवाद दिनोस् । विदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनोस् । हटाउन लागे भनेर सार्वजनिक रूवाबासी गर्नु शोभनीय भएन ! थैली राम्रोसँग नबाँध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन!’



साथै प्रवक्ता शर्माले बहुमतको संवैधानिक हैसियत नेपाल कम्युनिस्ट पार्टीमा भए नभएको प्रष्टाउन प्रधानमन्त्री ओलीसँग माग गरेका छन् ।उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेका छन् ‘प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन? छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन ?’

सम्बन्धित समाचार