
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा भारतले नभई आफूले मागेको बताएका छन् । नेकपाको स्थायी कमिटी बैठकमा दाहालले ओलीलाई ‘तपाईंको राजीनामा भारतले होइन, मैले मागेको हो, तपाईंले पार्टी विधि र पद्धतिलाई अस्वीकार गर्न पाउनुहुन्न’ भनेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
‘तपाईं मेरो राजीनामा भारतले माग्यो भनेर भन्नुहुन्छ । त्यस्तो होइन, तपाईंको राजीनामा विगतमा पनि मैले नै मागेको हो अहिले पनि मैले नै हो’, दाहालले बैठकमा भनेको ती नेताले बताए ।
दाहालले प्रधानमन्त्रीलाई पदमा कायम गर्ने अथवा हटाउने काम पार्टीभित्रैबाट हुने कुरा सबैले बुझ्न पर्ने पनि बैठकमा बताएका थिए । प्रचण्डले भारतविरुद्ध जथाभावी बोलेर ओलीले पार्टीको प्रतिष्ठा गिराएको गम्भीर आरोप समेत लगाएका छन् ।
‘भारतविरुद्ध बोलेर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बनध सन्तुलित पार्न सकिँदैन,’ प्रचण्डले भनेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा भएका कुरा दिल्लीको मिडियामा हुबहु कसरी मिले भनेर प्रश्न गरेको स्रोतले बताएको छ।
