
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा मुलुकका अधिकांश स्थानमा बदलीसहित वर्षा भइरहेको महाशाखाले जनाएको हो ।
आज सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
