ईरानको राजधानी तेहरानको एक क्लिनिकमा विष्फोट हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ । यो विष्फोट सीना अतहर क्लिनिकमा भएको हो । अधिकारीहरुका अनुसार विष्फोटमा १३ जनाको मृत्यु हुनुका साथै कैयौँ मानिसहरु घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
ईरानको सरकारी संचार माध्यमले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै विष्फोट ग्यास लिक भएका कारण भएको जनाएको छ । टेलिभिजनहरुमा देखाइएको तस्बिरमा आकासमा धुवाँको मुस्लो उडिरहेको देखिन्छ । दमकलकर्मीहरुलाई आगलागी नियन्त्रणमा लिन निकै समय लागेको थियो ।
अधिकारीहरुका अनुसार यो विष्फोटमा मृत्यु हुने मध्ये अधिकांश महिला छन् । यसअघि पनि सेनाको एक भवन नजिकै ठूलो विस्फोट भएको थियो जसको कारण पनि ग्यास लिक नै भनिएको थियो ।