
नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ६६ वर्षीया छन्त्यालको बुधबार निधन भएको हो ।
‘उहाँको आज निधन भयो । पार्टीले शोक प्रस्ताव पारित गर्न केन्द्रीय समिति बस्छ,’ कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने । उनका अनुसार आजका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा थप एजेन्डाबारे छलफल हुँदैन । ‘शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुन्छ । अन्त्येष्टिमा सहभागी हुन नेताहरू दिउँसो १ बजे पशुपति जानुहुन्छ,’ उनले भने ।
छन्त्याल बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङकी हुन् । उनी प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिइन् । उनी संसदको कृषि, सहकारी, वातावरण र पशुपंक्षि समितिमा सदस्य थिइन् । उनका दुई छोरा र दुई छोरी छन् ।
उनले नेपाल महिला संघबाट राजनीति थालेकी थिइन् । उनी संविधानसभा सदस्य पनि थिइन् । लामो समय आमा समूहमा रहेर काम गरेकी उनले अन्तरपार्टी महिला सञ्जालमा पनि काम गरिन् ।
