नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरू

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । हिजो चौथो दिनको बैठकमा नेताहरुले पार्टी र सरकारको नेतृत्वमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्र घेराबन्दीमा परेपछि आफूपक्षीय स्थायी कमिटी सदस्य र मन्त्रीलाई आज बिहान बालुवाटार बोलाएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १० असारबाट जारी स्थायी कमिटी बैठकमा हिजो अध्यक्ष ओलीसँग समकक्षी नेताहरूले पार्टी तथा सरकार दुवैको नेतृत्वबाट राजीनामाको माग गरेपछि ओलीले आज बिहान आफू निकटकासँग बालुवाटारमा परामर्श गरे ।



परामर्शमा भेला भएका नेताहरुले ओलीलाई ढाडस दिँदै जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहने भन्दै नेतृत्व नछाड्न सुझाव दिएका थिए । बिहानको परामर्शमा सहभागी नेता सुबासचन्द्र नेम्बाङका अनुसार प्रधानमन्त्रीलाई आफू निकटका नेताले अलि फराकिलो भएर सबै पक्षसँग छलफल गरी आन्तरिक समस्या समाधान गर्न सुझाव दिएको बताए ।

नेता तथा मन्त्रीहरुले ओलीलाई अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि आवश्यक परेका बेला आफूहरु त्याग गर्न तयार रहेको पनि बताएका छन् । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छलफलमा सहभागी भएका सबै नेताहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गरी पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक भावनाको विकास गर्न ओलीलाई सुझाव दिएको बताए । उनले अवस्था सकारत्मक दिशामा जाने आशा रहेको बताएका छन् ।

हिजोको बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमलगायतले खुलेरै प्रधाममन्त्री ओलीको राजीनामा मागेका थिए । स्थायित्व र सम्वृद्धिको नारा घन्काउँदै दुई वर्षअघि निर्वाचनमा दुईतिहाई नजिकको मत ल्याएर सरकारको नेतृत्व गरिरहेका ओलीले आफ्नै दलबाट घेराबन्दीमा पारिन लागेको महसुस गरेपछि आफूपक्षीय स्थायी कमिटी सदस्यसँग आज छलफल गरेका हुन् ।

बैठकमा सहभागी अर्का नेताका अनुसार विश्व कोभिड–१९ का कारण उत्पन्न जटिल परिस्थितिमा छ । नेपाल र नेपाली जनताको स्वास्थ्यसम्बन्धी ठूलो चुनौती छ। यस्तो बेलामा सरकार ढाल्ने र बनाउने खेल हुनु हुँदैन । अब सबैलाई मिलाएर सबै मिलेर अघि बढ्नुपर्छ भन्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले भारतले मिचेका भूभागसहित समेटेर नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन चलखेल भएको भन्ने अभिव्यक्ति सार्वजनिक गरेपछि नेकपाभित्रको विवाद सतहमा आएको छ । अध्यक्ष प्रचण्डले भारतले नभई पार्टी र सरकार राम्ररी चलाउन नसकेकाले आफूले नै राजीनामा मागेको बताएका थिए ।

आजको स्थायी कमिटी बैठकमा पार्टी भित्रको विवाद समाधान गर्दै बैठकका एजेन्डालाई पूर्णता दिने गरी छलफल हुने नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार