
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक संकट चुलिएरहेबेला आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरूसँग परामर्श लिएका छन् । बुधबार बिहान आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले परामर्श लिएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा मन्त्री र नेकपा केही स्थायी समिति सदस्यसँग करिब २ घण्टा परामर्श गरेका थिए । बाँकी नेताहरूसँग पनि प्रधानमन्त्री ओलीले परामर्श गर्ने बताएको पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन् । उक्त परामर्श सकारात्मक रहेको समेत भट्टराईको भनाइ छ ।
मन्त्री भट्टराईले भनेका छन् ‘सहभागीहरूले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउँन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाव दिनुभएको छ ।’ उनले अगाडि भनेका छन् ‘चिज साकारात्मक दिशामा जाने आशा गरौँ । प्रोक्सी वार बन्द गरौँ ।’
बालुवाटारको उक्त छलफलमा पूर्वमाओवादी गृहमन्त्री रामबहादुर थापा, लेखराज भट्ट बैठकमा सहभागी भए पनि जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र खानेपानीमन्त्री बिना मगर सहभागि नभएको बुझिएको छ । मंगलवारको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमसहित १७ जना सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन सुझाव दिएका थिए ।
