
पछिल्लो २४ घण्टायता ४८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३६५ जना पुरुष र ११७ जना महिला गरी आज ४८२ जना संक्रमित थपिएका हुन् । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । जसमध्ये १२ हजार २ सय ७२ जना पुरुष र १ हजार ७ सय ७४ जना महिला रहेका छन् ।
नेपालमा ४ हजार ६ सय ५६ जनाले कोरोनालाई जितेका छन् । नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अछामस्थित होम क्वारेन्टिमा बसिरहेको अवस्थामा मृत्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
मधुमेहका बिरामी भई नियमित औषधि सेवन गरिरहेका उनको यही असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
