नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असार ।

नेपालमा कोरोनाभाइरसको पहिलो संक्रमण गतवर्ष माघ ९ गते देखिएको थियो भने त्यसको दुई महिनापछि चैत्र १० गते दोस्रो संक्रमण देखा परेको थियो । अहिलेसम्म आइपुग्दा कोरोनाको संक्रमण नेपालका ७७ वटै जिल्लामा देखा परिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधवारसम्म नेपालमा १४ हजारभन्दा बढी जनामा कोरोनाभाइरसको संक्रमण देखिसकेको छ, जसमध्ये ३० जनाको मृत्यु समेत भइसकेको छ ।
गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन सरकारले केही खुकुलो बनाएसँगै पछिल्ला केही दिनयता देशमा कोरोनाभाइरसका संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । तर यही बीचमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा सही ढङ्गबाट काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना समेत भइरहेको छ । सदनमा सांसदहरूले सरकारको कार्यशैली माथि प्रश्न उठाइरहँदा सडकबाट पनि सरकारलाई खबरदारी गर्ने क्रम जारी छ । सरकारले जनताप्रति जवाफदेही र उत्तरदायी नभएको भन्दै स्वतन्त्र युवाहरूले सत्याग्रह समेत थालेका छन् ।
भएन असार पन्ध्रदेखि दैनिक दश हजार परिक्षण
सरकारले आरडीटी परिक्षणलाई रोकेर पीसीआर परीक्षण वृद्धि गर्नुपर्ने र अस्तव्यस्त क्वारेन्टिनबाट संक्रमण फैलिने झनै खतरा भएकोले क्वारेन्टिनको अवस्थालाई सुधार गरिनु पर्ने आवाजहरू पनि उठ्दै आइरहेका छन् । यता सरकारले भने परिक्षण दायरा बढाउने भने पनि त्यो देखिएको छैन । गत जेठ २६ गते प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना परिक्षण गरिने बताएका थिए । तर मन्त्रीले भनेको मिति नाघिसक्दा समेत पनि परिक्षणको दायरा दैनिक पाँच हजारको आसपासमै सिमित छ ।
सरकारले बिर्सियो प्राथामिकता
देशमा अहिले जनताका लागि सबैभन्दा ठूलो विषय कोरोना भाइरस सरकारका लागि भने सामान्य बन्न पुगेको छ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक गत असार १० गतेबाट सुरू भएको छ । तर बैठकको दोस्रो एजेण्डामा कोभिड–१९ को विषय उल्लेख भएपनि पाँचौ दिनको बैठकमा समेत उक्त विषयमाथि छलफल हुन सकेको छैन । मंगलवार र बुधवार बसेका पछिल्ला दुइ बैठकमा त झनै स्थायी कमिटीमा तय नभएका विषयमाथि बैठक केन्द्रित बन्न पुगेको छ । जनताको जीवन रक्षा गर्नुपर्ने मुख्य जिम्मेवारी सरकारकै हो । तर सत्तारूढ दलभित्रको आन्तरिक कलहले गर्दा सरकारले अहिलेको प्राथामिकतालाई बिर्सिदै गएको र पार्टीभित्रकै विषयमा मात्रै बढी केन्द्रित भएको देखिन्छ ।
गगन थापा भन्छन् अति भो, कमल थापा भन्छन् दुर्भाग्यपूर्ण
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफू जोगिन र आफ्नालाई जोगाउन व्यस्त भएको आरोप लगाएका छन् । देशमा सलह किरा र कोरोनाभाइरसको प्रभाव बढ्दो भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको थापाको आरोप छ । ‘सरकार चलाउनेहरू जोगिन र आफ्ना जोगाउन व्यस्त छन । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोनाभाइरसले ! बरू यिनको त गति र प्रभाव बढ्दो छ’ थापाले ट्वीटमा लेखेका छन् । उनले अगाडि थपेका छन् ‘नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अतिभयो यो तमासा । अबहामीलाई कुरा सुन्ने र कामगर्ने सरकार दिनुहोस् ।’
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि सत्तारूढ दल नेकपा सत्ता संघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । अध्यक्ष थापाले सीमाविवाद चरमोत्कर्षमा पुगेको, कोभिड–१९ महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुँदै गएको बेला सिंगो देश एकजुट हुनुपर्नेमा सत्तारूढ दल सत्ता संघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । सत्तारूढ दल नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुग्दा मंगलवारको नेकपा स्थायी कमिटी बैठकमा नेताहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका थिए । उत्त mविषयप्रति लक्षित गर्दै अध्यक्ष थापाले बुधवार ट्वीटमा नेकपालाई जनताले पाँच वर्षका लागि बहुमत दिएको हुँदा आपसमा मिलेर काम गर्न सुझाव समेत दिएका छन् ।
