नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असार ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलह यतिबेला छताछुल्ल भएको छ । गत असार १० गतेबाट सुरू भएको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग उठेको छ । उक्त स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गर्नेहरूमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अन्य शीर्ष नेताहरू र स्थायी कमिटी सदस्य छन् । गत आइतबार प्रधानमन्त्रीले आलीले आफूलाई पदबाट हटाउन भारत र आफ्नै पार्टीभित्रका नेताहरू लागेको अभिव्यक्ति दिएपछि जारी स्थायी कमिटीको बैठकमा उनको राजीनामाको माग उठेको हो ।
यसभन्दा अगाडि पनि पटकपटक आफ्नै दलभित्रबाट प्रधानमन्त्रीको आलोचना हुदै आएको थियो । सचिवालय बैठकमा समेत प्रधानमन्त्रीको राजीनामाको माग उठेको थियो । त्यो बेला प्रधानमन्त्री ओलीले आफूमाथि आइपरेको संकटलाई पार लगाएका थिए । तर अहिले प्रधानमन्त्री ओली सचिवालय र स्थायी कमिटी बैठक दुबैमा अल्पमत रहेको बुझिएको छ, त्यसै बेला उनको राजीनामाको माग पनि चर्को रूपमा उठेको छ । पार्टीका शीर्ष नेताहरूले प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिनुपर्ने माग उठाएपछिओलीले राष्ट्रपति र आफू निकट नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका छन् । यसैबीचमा पछिल्लो केहीदिनमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग चार पटकसम्म भेट गरिसकेका छन् ।
प्रधानमन्त्रीको कदमप्रति प्रचण्ड–नेपाल पक्षको आशंका
विहीबार पनि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद बैठक बोलाएका थिए । विहीबारकै मन्त्रीपरिषद बैठकलेसंसद्को बर्खे अधिवेशन विहीबार साँझ ५ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् । नेकपाभित्र आन्तरिक दन्द्ध चलिरहेका बेला सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।पार्टीको स्थायी कमिटीे बैठकबीच नै मन्त्रीपरिषद्को बैठक बोलाएर संसद अधिवेशन अन्त्य गर्नु र अचानक राष्ट्रपतिसँग भेट गर्नुलाई प्रधानमन्त्रीले कुनै पनि कदम चाल्न सक्ने आशंका प्रचण्ड–नेपाल पक्षले गरेका छन् । संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को बैठक निर्णयले विहीबारको लागि तय भएको नेकपा स्थायी कमिटी बैठक समेत प्रभावित भएको छ ।
प्रचण्ड–नेपाल पक्ष बहुमतमा, ओली अल्पमतमा
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीबार बिहान ओली समूहका नेताहरूलाई खुमलटार बोलाएर छलफल गरेका थिए । उक्त छलफलमा ओली निकटका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र योगेश भट्टराई सहभागी भएको बुझिएको छ । यसअघि ओलीले पनि बुधबारसरकारका मन्त्रीहरू र आफू निकट स्थायी कमिटी सदस्यहरूलाई परामर्शका लागि बालुवाटार बोलाएका थिए । प्रचण्ड–नेपाल समूह पनि बुधवार बेलुका झम्सीखेलमा भेला भएका थिए । उक्त भेलामा ३० जना स्थायी कमिटी सदस्यहरू सहभागी भएका थिए। यसरी हेर्दा पार्टीभित्र प्रधानमन्त्री ओली अल्पमतमा देखिएका छन् । ९ सदस्यीय सचिवालयमा ६ जना र ४४ सदस्यीय स्थायी समितिका ३० जना ओली विपक्षमा देखिएका देखिएका छन्।