प्रधानमन्त्री केपी ओलीले विहीबार सभामुख अग्निप्रसाद सापकोटालाई थाहै नदिइ संसद अधिवेशन अन्त्यको निर्णय गरे । सभामुखमात्र नभइ उनले आफ्नै पार्टीभित्र पनि सल्लाहै नगरी यस्तो निर्णय लिएका थिए ।
संसद अधिवेशनको अन्त्य गर्नेबेलामा राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभाका सभामुखसँग परामर्श गरेर निर्णय लिने संसदीय परम्परा रहँदै आएको छ । तर ओलीले सभामुखलाई सामान्य जानकारीसमेत नदिइ संसद अधिवेशन अन्त्यको निर्णय गरे । प्रधानमन्त्रीको यस्तो कदमप्रति विपक्षी नेपाली कांग्रेससमेत असन्तुष्ट बनेको छ ।
प्रधानमन्त्री ओलीले संसदलाई जानकारी नै नदिई संसद अधिवेशेन अन्त्यको निर्णय गरिरहँदा सभामुख सापकोटाचाहिँ निजामती कर्मचारीसम्बन्धी विधेयकबारे कर्मचारीका नेताहरूबाट ज्ञापनपत्र बुझ्न व्यस्त थिए । सभामुख सापकोटाले कर्मचारीका मागहरूबारे छलफल गर्न सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई बोलाएका थिए । तर त्यहीबेला सभामुखले समेत पूर्वजानकारी नपाइ संसद बैठक स्थगन भएको सूचना बाहिर आयो ।