इलाम जिल्लामा सूक्ष्म शिक्षण अभियान सम्पन्न, अन्यत्र जारी

वर्तमान विश्वलाई कोरोना भाइरसको संक्रमणले त्रस्त बनाएको छ र यसको प्रभावबाट नेपाल पनि अछुतो बनेको छैन । मानिसहरूका दैनिकी पहिलेजस्तो सामान्य छैनन् । सामान्य बन्न कति समय लाग्ने हो भन्ने कुनै टुङ्गो छैन । घरबाहिर बसेर काम गर्ने मानिसहरू कामकाज छाडेर घर फर्केका धेरै समय भैसक्यो । केही समय परिवारसँग र खेतीपातीतिर लागेर मन भुलाइरहेका उनीहरू फेरि अर्को सलहको आतङ्कले थप त्रस्त बनेका छन् । यस्तै संत्रासका बीच पनि शिक्षा क्षेत्रमा भने केही राम्रा पहल र प्रयासहरू भइरहेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले देशभरि नै विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । चैतबाट भएको लकडाउनको समयदेखि हालसम्म संगठनले हजारौं कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । शिक्षकको पेशागत क्षमतालाई वृद्धि गर्ने उद्देश्यका साथ सुरू गरिएको कार्यक्रमहरू अहिले पनि विभिन्न जिल्लाहरूमा चलिरहेका छन् । सङ्गठनले असार ७ गतेदेखि कार्यक्रमलाई पहिलेभन्दा केही फरक ढङ्गले सुरू गरेको छ ।



शिक्षण पेशालाई प्रविधिमैत्री बनाउने उद्देश्यकासाथ संगठनले इलाम जिल्लाबाट सूक्ष्म शिक्षण अभियान २०७७ (माइक्रो टिचिङ म्याराथुन २०२०) सुरू भएको छ । इलाममा सातदिन फरकफरक प्रशिक्षकहरूद्वारा विभिन्न विषयमा सूक्ष्म शिक्षण सम्पन्न गरिएको थियो भने ती प्रशिक्षणहरूमा विभिन्न विषयका विज्ञद्वारा समीक्षासमेत गरिएको थियो । इलामपछि उक्त कार्यक्रम हाल जिल्ला समिति मोरङले निरन्तरता दिइरहेको छ ।

मोरङले प्रशिक्षण आरम्भ गरेको छैटौं दिन अर्थात् असार १८ को कार्यक्रम संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा संगठनकै राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मा रहेका थिए भने शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले प्रशिक्षण कार्यक्रमको समीक्षा गरेका थिए । शिक्षाविद् कोइरालाले कार्यक्रमको समग्र समीक्षा गर्ने क्रममा सहभागीहरू सबैलाई बधाई दिँदै प्रविधिमैत्री प्रस्तुति देख्न पाउँदा आफू खुसी भएको समेत बताए । बोल्ने क्रममा उनले सरकारी विद्यालयका शिक्षकहरू निदाएका रहेनछन् भन्दै उपलब्धिमूलक कार्यक्रम गरेकोमा मोरङ जिल्लालाई बधाईसमेत दिए ।

कार्यक्रममा सामाजिक विषयमा झङ्कप्रसाद पराजुलीले, अङ्ग्रेजी विषयमा बीणा लामिछानेले र तीर्थराज ढकालले कक्षा प्रस्तुति दिएका थिए ।

मोरङ जिल्लाको कार्यक्रम १९ गते समापन हुने र सोही अभियानमा रहेर २० गतेदेखि झापा जिल्लाले सुरू गर्ने जानकारी राष्ट्रिय अध्यक्ष शर्माले गराएका थिए ।

सम्बन्धित समाचार